झापा, जेठ २२ । इलाममा भएका सवारी दुर्घटनामा चारजना घाइते भएका छन् ।

आज साँझ ५;५५ बजे इलाम रोङ गाउँपालिका ३ कोलबुङ चुचे ढुंगास्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–०१३प५२७९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक झापा बुद्धशान्ति ३ बस्ने ३६ वर्षीय उमेश दाहाल , पछाडी सवार उनकी श्रीमती २६ वर्षीया जानुका दाहाल र मोटरसाइकलमा बिचमा सवार उनका छोरा ७ वर्षीय उज्जवल दाहाल रहेका छन् ।
तीनैजना घाइतेलाई उपचारको लागि बुधबारे महिला सामुदायिक अस्पताल बुधबारेतर्फ ल्याइएको छ ।
त्यस्तै आज दिउँसो ३ः४५ बजे इलाम नगरपालिका १ गैरीगाउँस्थित मेची राजमार्गमा पाँचथरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २४४८ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०३–००१ प ५९७६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक देउमाई २ चित्रे बस्ने २२ वर्षीय अनिल साङपाङ राई घाइते भएका छन् ।
जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । मोटरसाइकल , ट्रक र ट्रक चालक इलाम नगरपालिका १ साखेजुङ बस्ने २७ वर्षीय मिलन रसाइली प्रहरी चौकी रक्से इलामको नियन्त्रणमा रहेका छन् ।