बिर्तामोड, जेठ २३ । मानिसमा तनाव बढिरहेका बेला झापाको बिर्तामोड –५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमीले आफ्ना अभिभावक तथा शिक्षकहरुलाई उत्प्रेरणा दिन थालेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक इश्वर श्रेष्ठद्वारा न्यूटन्सले आफ्ना सबै अभिभावक र शिक्षकहरुलाई उत्प्रेरणा दिन थालेको हो । हिजो पहिलो दिन नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका करिव ६ सय अभिभावकहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको हो ।
त्यसैगरी आज शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकलाई प्रशिक्षण दिइएको थियो । आज करिव ५ सय अभिभावकको सहभागिता रहेको थियो । भोलि शनिबार शिक्षकहरुलाई अभिमुखीकरण प्रदान गरिने विद्यालयले जनाएको छ ।

हिजो एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ कार्यक्रमको थालनी गरिएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात ,जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवारी बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बिश्वास व्यक्त गरे । यस किसिमको प्रेरणादायी कार्यक्रमबाट अभिभावकमा उत्साह देखिएको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाई, प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष एच के पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए। विद्यालयका प्रिन्सिपल हुमागाईले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी प्रसाईले गरेका थिए ।