झापा, जेठ २३ । झुठो विवरण पेश गरी नागरिकता किर्ते गर्ने ससुरा ज्वाइँ इलाममा पक्राउ परेका छन् ।

जेठ ६ गते इलाम देउमाई –३ बस्ने सिंगबहादुर तामाङले वडा नं.३ को वडा कार्यालयमा झुठो विवरण पेश गरी सोही ठाउँ बस्ने नातामा ज्वाइँ पर्ने २४ वर्षीय राज तामाङलाई छोरा बनाई इलाका प्रशासन कार्यालय मंगलबारेबाट नागरिकता बनाइदिएका थिए । जेठ २२ गते ना.प्र.नं. ०३–०२–८२–००१६७ को नागरिकता प्रमाणपत्र रद्ध गरी दुवैलाई आवश्यक कार्वाहीको लागि इलाका प्रशासन कार्यालय मंगलबारेले इलाका प्रहरी कार्यालय मंगलबारेलाई पत्र पठाएको थियो ।
हिजो साँझ इप्रका मंगलबारेबाट प्रहरी टोली खटिएर दुवै जनालाई नियन्त्रणमा लिएको हो । आज ७ दिन म्याद थप गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको छ ।