भद्रपुर, जेठ २४ । झापा सदरमुकाम चन्द्रगढीस्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी सभागृह) का लागि सहरी विकास मन्त्रालयमार्फत. तीन करोड बजेट बिनियोजन गरिएको छ ।


भद्रपुर नगर प्रमुख गणेश पोखरेलका अनुसार जीपी भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत.नयाँ आर्थिक वर्षका लागि तीन करोड रकम छुट्टिएको हो ।

नगर प्रमुख पोखरेलले अब जीपी सभागृहको अधुरो निर्माण कार्य पूरा हुने बताउँदै सरकारले बजेट बिनियोजन गरेको पुष्टि गरेका हुन् । आफू नगर प्रमुख भएपछि पटक पटक संघीय सरकारसंग अलपत्र सो भवन निर्माणको वातावरण बनाइदिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको भए पनि संघीय सरकारले बल्ल सुनुवाई गरेको उनको भनाइ छ ।

१० वर्षअघि २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, अहिलेका प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले उक्त सभागृहको सामूहिक शिलान्यास गरेका थिए । करिब ७ वर्षयता निर्माण रोकिएर अलपत्र बनेको यस भवनका लागि स्थानीय स्तरबाट सर्वपक्षीय रुपमा दवाव दिइएपनि सरकारी पक्षले निर्माणमा रहेको समस्या हल नगर्दा अलपत्र परेको थियो ।

सभागृह बन्ने हल्ला आएपछि सदरमुकाम क्षेत्रमा चहलपहल बढ्ने भन्दै खुशीयाली छाएको छ । काँग्रेस र एमालेका कार्यकर्ताले सभागृह निर्माणका लागि प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौला, पूर्व सांसद बसन्त बानियाँ, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललगायतले पहल गरेको भन्दै सामाजिक सञ्जालमा धन्यवाद दिएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ को बजेटमा जीपी सभागृह निर्माणका लागि उक्त बजेट बिनियोजन भएपछि अधुरो सभागृह बन्ने निश्चित भएको नगर प्रमुख गणेश पोखरेलले बताए ।

वि.सं. २०७२ असार ९ गते प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा सो भवन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर गरेको थियो । कम्पनीले वि.सं. २०७४ भदौ ३१ गते भवन सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । १९ कठ्ठा जमिनमा बन्न सुरु भएको भवनको करिब ६५ प्रतिशत काम भइसकेको नगर प्रमुख पोखरेलको भनाई छ ।

निर्माणाधीन जीपी सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना छ । तत्कालीन झापा जिल्ला विकास समितिको नेतृत्वमा सभागृह निर्माणका लागि ठेक्का लगाइएको थियो । संघीयता कार्यान्वयनमा आएपछि जिल्ला समन्वय समितिमा रूपान्तरित जिविसको अधिकार कटौतीमा परेपछि सो भवन निर्माणको अपनत्व ग्रहणमै अन्यौलता आएपछि म्याद थपिएन ।

तत्कालीन स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला विकास समितिमार्फत निर्माण कार्य थालिएको थियो । काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नामबाट भवन बनाइएको रिस फेर्नकै लागि तत्कालीन अवस्थामा नेकपा एमालेसम्बद्ध सरकारले भवन निर्माणको म्याद थप्न आनाकानी गर्दा निर्माण अवधि गुज्रिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्