झापा,जेठ २५ । भारतमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले कोरोना सङ्क्रमण पुष्टि हुने व्यक्ति भारतबाट आएको जानकारी दिए । भारतमा भने हालसम्म पाँच हजार पाँच सय जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतमा कोरोना फैलिएपछि नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको हो । निर्देशक डा. झाले त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले कोरोनाको लक्षण देखेपछि शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्ने गरिएको बताए ।
महाशाखाका निर्देशक डा. झाले सङ्क्रमण पुष्टि हुनेलाई घरमै आइसोलेसनमा बस्न निर्देशन दिएको जानकारी गराए । उनले यसअघि पनि सुदूरपश्चिममा शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।