झापा, जेठ २५ । नेपाल डेन्टल एसोसिएसन झापाले जिल्लाका दन्त चिकित्सकहरुलाई दक्ष बनाउन तालिम प्रदान गरेको छ ।

दन्त चिकित्सकहरुलाई आधारभूत ज्ञान र व्यवहारिक सीपमा दक्ष बनाउन Hands–On Workshop Basic Anterior Composite Restorations सम्बन्धी एक दिवसीय तालिम दिइएको हो ।
बिर्तामोडको सीपी होटलमा आयोजना गरिएको कार्यक्रममा डा. इभान मानन्धरले दन्त चिकित्सकहरुलाई तालिम दिएका थिए । नेपाल डेन्टल एसोसिएसन झापा शाखाका वर्तमान अध्यक्ष डा. मुकेशकुमार शाहले अध्यक्षता गरेको कार्यक्रममा स्वागत मन्तव्य महासचिव डा. अक्कल गुरुधामी तथा पूर्व अध्यक्ष डा. हेरम्ब झाले दिएका थिए ।

सो कार्यक्रममा हिमालय डेन्टल सर्जिकल सप्लायर्स, श्री पाउ पाथिभरा सप्लायर्स, ॐ दिव्यान्श डेन्टल सप्लायर्स, विभूति केमिकल सर्जिकल सप्लायर्स, सीटीएल फर्मास्युटिकल्स र इस्कन इम्पेक्सको प्रायोजन रहेको थियो। सो कार्यक्रमको संचालन डा. नेहाल मैनालीले गरेका थिए भने प्राविधिक सहयोग डा. शयुज अधिकारीले गरेका थिए ।
कार्यक्रममा ३० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको नेपाल डेन्टल एसोसिएसन झापाका अध्यक्ष डा. शाहले जानकारी दिएका छन् ।