झापा,जेठ २५ । नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको छ।

नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता सह प्रा.डा गोपाल सेढाइले अनुहार तथा स्तनका विभिन्न अप्रेशनहरुका साथै नेपालमै पहिलो पटक लिंग परिवर्तन अपरेशन (पुरुषलाई महिला) बनाइएको जानकारी दिएका हुन्।
प्रवक्ता सेढाइले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चार्ज अपरेशनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’
विदेशी प्लास्टिक सर्जन डा. अलिरेजा हमिदियान जहरोमीको नेतृत्व तथा प्लास्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा भएको अप्रेशनमा विभागका सम्पूर्ण प्लास्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता रहेको अस्पतालले जनाएको छ। यस्तै एनेस्थेसियामा डा. मेघा कोइराला र डा. पंकज जोशीको टीमले सहयोग गरेका हुन्।

अबदेखि त्रिवि शिक्षण अस्पतालमा लिङ्ग पहिचान क्लिनिकको स्थापना गरेर नियमित रूपमा यस्ता सेवाहरु सुचारु गर्दै जाने डा. जयन मान श्रेष्ठले जानकारी दिए। विज्ञप्तिमा भनिएको छ,‘लिंग परिवर्तन अपरेशन (शल्यक्रिया) ट्रान्सजेन्डर व्यक्तिहरूको लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्त्वपूर्ण उपायहरू मध्ये एक हो। धेरै ट्रान्सजेन्डरहरूले यो अप्रेशन गर्नुपर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरहरूले यो अप्रेशन पछि आफू सम्पूर्ण रूपमा परिवर्तित लैङ्गिक पहिचान पाएको महसुस हुने विश्वास गर्दछन्।’

हालसम्म यो अप्रेशन गर्न विदेशमा जानुपर्ने बाध्यता रहेकोमा नेपालमै सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई राहत मिल्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्