झापा, जेठ २५ । पटक पटक चक्काजाम गर्दै आएका झापा गौरादहका किसानहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

विभिन्न ७ सुत्रीय माग राखी उनीहरुले घरअगाडी राँको बाल्ने ,व्लाकआउट गर्ने र राँके जुलुस गर्नेलगायतका विरोध कार्यक्रम घोषणा गरेका हुन् । किसान संघर्ष समिति झापाले आज गौरादह ८ जुरोपानीस्थित अरुणोदय प्रा.वि.को सभाहलमा पत्रकार सम्मेलन गरी विरोध कार्यक्रम घोषणा गरेको हो ।
घोषित बिरोध कार्यक्रमअन्तर्गत जेठ २६ गते ८ बजे राति घर–घरमा घरअगाडी १० मिनेट राँको बाल्ने , जेठ २७ गते राति ८ देखि ८ः३० बजेसम्म आधा घण्टा व्लाकआउट गर्ने र जेठ २९ गते गौरादह १ स्थित डिपुचोक बजारमा राँके जुलुस गर्ने रहेको छ । डिपुचोकदेखि गौरादह बजारसम्म विभिन्न प्लेकार्डसहित गरिने मौन राँके जुलुसमा कमल गाउँपालिका , गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका ५ सयभन्दा बढी कृषकहरु सहभागी गराइने पत्रकार सम्मेलनबाट जानकारी दिइयो ।
उत्पादन अनुदान कार्यक्रमको क्षेत्र बिस्तार र बजेट व्यवस्थापनको सुनिश्चितता हुनु पर्ने , सरकारले तोकेको मूल्य पाउनु पर्ने , मल, बीउ, औषधि पाउनु पर्ने ,. ट्रयाक्टर जोताइ , खेतीबारीमा प्रयोग गरिने कृषि यन्त्र उपकरणको न्यूनतम दररेट कायम गर्नुपर्ने , कृषि सिँचाई महसुल पुरै छुट हुनुपर्ने , बाली बिमाको कार्यक्रम स्थानीय सरकारले अनिवार्य लागु गर्ने , तौलमा ठगी गर्ने कृत्रिम कालो बजारी , ठगी गर्ने दलाल र उद्योगीहरु पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने लगायतका ७ सुत्रीय माग उनीहरुले राखेका छन् । ती मागहरु स्थानीय र केन्द्र सरकारले पुरा गर्नु पर्ने उनीहरुको भनाई रहेको छ ।
किसान संघर्ष समितिका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका प्रबक्ता खेमराज अधिकारीसहित कृषक, शिक्षक र बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।