झापा, जेठ २५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुई दिनसम्म झापामा रहँदा खाली रहन पाइनन् ।

विभिन्न कार्यक्रम र शुभेच्छुक पार्टी कार्यकर्ताहरुको भेटघाटका कारण उनी अति व्यस्त बनिन् । शुक्रवार बेलुका बिराटनगरबाट आएदेखि नै उनलाई भेट्न कार्यकर्ता आइनै रहे । शनिवार बिर्तामोडमा आयोजित कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरिन् । त्यस्तै आइतवार नारी संचार गृहको कार्यक्रममा सहभागी बनिन् । आइतवार नै उनी शिवसताक्षीको पाँचगाछीमा रहेको झापा इनर्जी अवलोकन गर्न पुगिन् ।
कार्यक्रममा भेटघाट त भइनै रह्यो , उनलाई राखिएको होटल सिद्धार्थमा समेत विभिन्न समूहहरु भेट गर्न पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीको दुई रातको होटल बसाइँमा शुभेच्छुक पार्टी कार्यकर्ताहरु भेट्न पुगिरहे । विराटनगरबाट पूर्वराष्ट्रपति भण्डारीसंगै पूर्व मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शेरधन राई , पार्टी उपाध्यक्ष टीकाराम चेम्जोङ्ग आएका थिए । दुई दिनसम्म उनीहरु साथमै थिए । उनीहरु बाहेक झापाका हरिचरण शिवाकोटी , प्रेम गिरी , शिव ढुंगेल , पवित्रा महतारा प्रसाई , सुवास भट्टराई , सभामुख पत्नी टीका घिमिरे लगायत पनि संगसंगै हिडेका थिए ।उनले अखिल नेपाल महिला संघका केन्द्रीय नेतृत्वदेखि जिल्ला तहसम्मका महिला नेतृहरुलाई छुट्टै भेटघाट गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापामा पूर्वराष्ट्रपति भण्डारीको लोकप्रियता निकै देखियो । भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बाँकी जीवन बिताउने पक्षमा छैनन् भन्ने कुरा उनको अभिव्यक्तिले प्रष्ट सङ्केत गरिसकेको छ । शुभेच्छुक पार्टी कार्यकर्ताहरु पनि उनलाई राजनीति गरेको हेर्न चाहिरहेका छन् । त्यही भएर उनको पछि भीड बढ्दो छ ।
शुक्रबार विराटनगरमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले राजनीतिक सक्रियता कायमै रहेको बताएकी थिइन् । एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक गतिविधि नगर्न सार्वजनिक मञ्चबाटै भनिरहेका छन् । उनले ‘राष्ट्रिय सम्मान लिएर बस्नू’ भन्ने उर्दी पनि दिइसकेका छन् ।
आइतबार मात्रै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै ओलीले महाधिवेशनको टुंगो नै नभएको अवस्थामा एमालेमा फलाना आउने रे भनेर हल्ला चलाउनुको अर्थ नरहेको बताए । यो भनाइ भण्डारीको सक्रियताप्रति लक्षित थियो ।
भण्डारीको सक्रियताले एमालेमा अहिले माथिदेखि तलैसम्म दुई गुट बनिरहेको बताइन्छ । झापामा एउटा समूहले उनलाई साथ दिइरहेको पाइयो ।