झापा,जेठ २६ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन् ।

स्थानीय स्तरमा पाइने कच्चा पदार्थको सदुपयोग गरी स्थानीयलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अल्लोलाई प्राथमिकता दिन थालेका हुन् ।
आठ गाउँपालिका र एक नगरपालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय अल्लो उत्पादनसँगै अल्लो सम्बन्धी सिलाईबुनाई तालिमलाई प्राथमिकता राखिएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकाले अल्लोको झोला बनाउने एक महिने तालिम समापन गरेको छ । गाउँपालिका १ का ११ जना महिलालाई झोला बनाउने तालिम प्रदान गरेको थियो ।
यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० का १६ जना महिला ६० दिने अल्लो कपडा सम्बन्धी सिलाईबुनाई तालिम लिएर उद्यमी बनिसकेका छन् । उनीहरूले अहिले अल्लो कपडाबाट विभिन्न किसिमका झोला तयार गरिरहेका छन् । ६० दिने तालिमबाट उद्यमी बनेकी चन्द्रिका लिम्बूले अहिले अल्लोको झोला बुनेर नै मासिक ३० हजार सम्म आम्दानी गरिरहेकी छन् । आफूले उत्पादन गरेका सामाग्रीको बजारीकरण भएमा भावी दिनमा यसै क्षेत्रमार्फत गुजारा चलाउन सकिने सम्भावना बढेको उनी बताउछिन् ।
स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवद्र्धन गर्ने र सीप विकाससँगै स्वरोजगार बनाउने उद्देश्यले महिलाहरूलाई ६० दिने सिलाई बुनाई तालिम दिइएको फुङलिङ नगरपालिका १० का वडा अध्यक्ष सन्तोष लिम्बूले बताए । लिम्बूका अनुसार उद्यमीहरूले तयार पारेको झोलालाई खरिद गरि वडा भित्रका विद्यालयका विद्यार्थीहरू प्रदान गर्ने योजना रहेको छ ।
यस्तै अल्लोलाई ब्राण्डीङ गर्न ताप्लेजुङको मैवाखोला गाउँपालिका पनि अघि सरेको छ । गाउँपालिका विगत तीन आर्थिक वर्ष यताबाट अल्लोलाई ब्राण्डीङ गर्ने अभियानमा लागेको हो । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार स्थानीय स्तरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै महिला तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिका अल्लो ब्रान्डिङमा लागेको हो । गाउँपालिकाले दरखास्त आह्वान गरेर सबै वडाको प्रतिनिधित्व हुने गरि आर्थिक वर्ष २०७९–८० मा अल्लोबाट धागो बनाउने तालिम प्रदान गरेको थियो । यस्तै गत आर्थिक वर्ष (२०८०–८१) मा अल्लोको धागोबाट कपडा बुन्ने तालिम प्रदान गरेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षमा भने अल्लोको धागोबाट कपडा तयार गर्ने र विभिन्न डिजाइनका सामग्रीहरू तयार गर्न सक्ने तालिम प्रदान गरेको छ । तालिम गाउँपालिका प्रत्येक वडाबाट प्रतिनिधि हुने गरि १० जनालाई प्रदान गरिएको छ । तालिम सँगै तालिममा सहभागि १० जनालाई एकरएक वटा सिलाई बुनाई गर्ने मेसिन पनि हस्तान्तरण गरेको पालिका अध्यक्ष वनेमको भनाइ छ ।