झापा,जेठ २६ । सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउने भएको छ ।
आव २०८२-८३ को बजेटमार्फत सुन चाँदीमा दुई प्रतिशत विलासिता कर, हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर पर्न गएको हो । विलासिताका करका कारण सुनका गहना खरिद थप महँगो हुने भएको छ । यसले बजारमा सुनको कारोबार घट्न थालेपछि व्यवसायीलाई समेत असर पर्न गएको हो ।
चालु आव २०८१-८२ को बजेटमा १० लाख रुपियाँ बराबरको गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिता कर लाग्ने गरेको थियो । आगामी आवको बजेटमार्फत जुनसुकै परिमाणमा सुन गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिताको कर लाग्ने व्यवस्था गरिएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा लगाइएको विलासिता करले उपभोक्ता र व्यवसायीलाई सिधै मार परेको बताए । सरकारले राजस्व सङ्कलन गर्ने नाममा सुनको कारोबारमा दोहोरो कर लगाउँदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ ।