झापा, जेठ २६ । एसियन हाइवेको पूर्वी खण्डमा चारवटा डाइभर्सन वर्षाअगावै नहटाइने भएको छ ।

गत जेठ १५ गते भत्किएर यातायात अवरुद्ध भएको चार ठाउँमा वर्षामा समेत त्यही डाइभर्सनबाटै आवत जावत गर्नुपर्ने समस्या रहेको हो ।

काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डमा ३ वटा ठूला पुलसहित जम्मा १४६ वटा कल्भर्ट रहेका छन् । त्यसमध्ये ११६ वटाको काम शुरु भएको छ भने ३० वटाको काम शुरु नै भएको छैन । काम थालिएका ११६ वटामध्ये ११२ वटामा कल्भर्ट बनाई पुरिसकिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) आयोजनाले जनाएको छ । बाँकी ४ वटा कल्भर्टको काम वर्षाअगावै नसकिने भएको हो ।

काली खोलाको पुलमा ढलानका ४ भागमध्ये एक भाग सकिएको र बाँकी पूरा गर्न थप दुई महिना लाग्ने भएको छ । त्यहाँ ह्युमपाइप राखेर पानीको निकासको व्यवस्था मिलाउन लगाइएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए । त्यस्तै भालु खोलामा असार २० सम्ममा मात्र सबै काम सकिने भएको छ भने काँकडभिट्टादेखि १० किलोमिटर पश्चिमको कल्भर्ट असार १५ सम्ममा सकिने आयोजनाले जनाएको छ । त्यस्तै चारआलीको हात्ती अन्डरपास निर्माण हुन अझै दुई महिना लाग्ने भएको छ । त्यहाँ पनि ठूला ह्युमपाइपको व्यवस्था गर्न लगाइएको सहायक प्रजिअ प्रसाईले जानकारी दिए ।

त्यस्तै पश्चिम खण्डअन्तर्गत झापामा ६ वटा पुलसहित ४५ वटा कल्भर्ट रहेका छन् । जसमध्ये २६ वटाको काम शुरु भएको छ भने बाँकी १९ वटाको काम शुरु भएको छैन । २६ वटामध्ये मावा र रतुवा गरी दुईवटामा डाइभर्सनको काम छैन । बाँकी २४ मध्ये २२ वटामा निर्माण सम्पन्न भई पुरिसकेको आयोजनाले जनाएको छ । बाँकी गेउरियाको पुल ढलान भइसकेर १५ दिनमा खोलिने र भुत्रेको पुल ढलान भइसकेर जेठभरिमा गाडी चल्ने जनाइएको छ । झापामा ९ वटा अन्डरपास निर्माण हुने भएको छ । जसको काम शुरु नभएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्