झापा , जेठ २६ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङ दुई दिने भ्रमणका लागि झापा आइपुगेका छन् ।


चिनियाँ राजदूत छेन सोङ आज दिउँसो ४.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चन्द्रगढी बिमानस्थलमा अवतरण गरेका हुन् । दुई दिने बसाईका क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी बन्ने भएका छन् ।

भोलि बिहान ८ बजे अर्जुनधारा –२ खुदुनाबारीस्थित सुपारीको पातबाट बनिने दुना टपरा फ्याक्ट्रीको अवलोकन गर्ने , त्यसपछि बाँसबाट उत्पादित वस्तुहरुको अवलोकन निरीक्षण , शनिश्चरे मावि अर्जुनधारा ८ मा शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि शुक्रराज आधारभूत विद्यालय बिर्तामोड – ८ देउनियाँको भवन उद्घाटन , भद्रपुर १० मा रहेको
बाम्बो फ्याक्ट्री अवलोकन गर्ने कार्यक्रम तालिका रहेको छ ।

त्यस्तै जेठ २८ गते अर्जुनधारा –६ का सुबोध ढुंगेलको घरमा गाईफार्म अवलोकन, बिर्तामोड २ मा मोहन सिवाकोटीलगायतले माछापालन गरेको माछा फार्मको अवलोकन , बिर्तामोड ९ मा देबकोटा आधारभूत विद्यालयको भवन शिलान्यास, दमक –१० र कमल ७ मा रहेको चिन नेपाल मैत्री पार्कको अवलोकन गर्ने कार्यक्रम रहेको छ । राजदूत सोङ होटल सिद्धार्थमा बसेको जनाइएको छ ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी नगर उप–प्रमुख खड्गमाया पराजुली, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर इन्चार्ज अम्बिर लिङदेन, एमाले नेता बद्री भट्टराई, देवराज कार्कीलगायतले आज भेट गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्