बिर्तामोड, जेठ २७ । तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी भदौको अन्तिम साता हुने भएको छ ।

युवाहरुलाई शारीरिक सुगठन खेलप्रति उत्प्रेरित गर्न विगत दुई वर्षदेखि बडी ग्यारेज बिर्तामोडले प्रदेश स्तरको प्रतियोगिता गराउँदै आएकोमा तेस्रो संस्करण राष्ट्रिय स्तरको गराउने भएको छ ।
आगामी भदौ २७ र २८ गते बडी ग्यारेजले झापामा पहिलो पटक राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता गराउन लागेको हो ।
धर्मश्री पछिको दोस्रो ठूलो प्रतियोगिता झापामा गराउन लागिएको प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिए ।
पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने भएका छन् । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि उपाधि विजेताको पुरस्कार राशि ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।
त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख , तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछन् । पाँचौँ हुनेले नगद ७५ हजार र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
हरेक तौल समूहमा दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सो प्रतियोगिताका अध्यक्ष तथा शारीरिक सुगठन संघका कोशी अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार सुवास भट्टराई, युवा व्यवसायी युवराज निरौला, पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दिप साउदेनले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिताका संयोजक दिपेन चौधरीको पनि उपस्थिति रहेको कार्यक्रमको संचालन संचारकर्मी रमेश तिवारीले गरेका थिए ।