झापा , जेठ २७ । केही दिनदेखिको अत्यधिक गर्मीका कारण झापा कमल गाउँपालिकाका विद्यालयहरु बन्द गरिएका छन् ।

गर्मीका कारण पठनपाठनमा समस्या भएपछि जेठ २८ र २९ गते गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई दुई दिन विदा दिइएको हो । गर्मीका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएकोले मिन पचासको विदाबाट कट्टा हुने गरी दुई दिन पठनपाठन स्थगित गर्न गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सबै विद्यालयहरुलाई सूचित गरेका छन् ।
कमल गाउँपालिकामा २१ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय रहेका छन् । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी दुई दिनका लागि पठनपाठन रोक्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । अत्यधिक गर्मीका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले पनि आफ्ना नगरभित्रका विद्यालयहरुलाई भोलि र पर्सी विदा दिएको छ । अन्य पालिकाहरुले पनि गर्मीका कारण विद्यालयहरुलाई विदा दिन लागेको जनाइएको छ ।
मौसमविद्हरुका अनुसार यही जेठ १५ गते भित्रिएको मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । त्यसकारण केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।