झापा, जेठ २८ । ६७२ जनाको मृत्यु भएको झापामा कोरोना संक्रमणप्रति सतर्कता अपनाउन थालिएको छ ।

भारतबाट कोरोना संक्रमितहरु प्रवेश गर्न सक्ने भएकाले पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाउँदै नाकाबाट प्रवेश गर्नेहरुलाई जाँच गरिने भएको छ । जाँच गर्नका लागि हेल्थ डेस्कमा कर्मचारी थपिएको छ ।
जनशक्ति थप गरिसकेपछि आवश्यक किट मगाएर एक– दुई दिनपछि स्वास्थ्य जाँच थालिने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले पालिकाहरुसंग किट मगाइएको जानकारी दिए । जनचेतना कार्यक्रमअन्तर्गत प्रचार प्रसार ,क्वारेन्टाइन व्यवस्थापनलगायतका कार्यक्रम पनि संचालन गर्न लागिएको उनले बताए ।
कोरोना संक्रमणबाट झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए । त्यसमध्ये ६७२ जनाको मृत्यु भएको थियो । झापामा १ लाख ३८१ जनालाई पीसीआर टेस्ट र ४२ हजार ४१० जनालाई एन्टीजेन टेस्ट गरिएको थियो ।