झापा, जेठ २९ । हिजो साँझ वर्षासंगै परेको चट्याङले लागेर झापा र धनकुटामा चारजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन् ।

साँझ ६.१० बजे झापा बुद्धशान्ति गाउँपालिका वडा न. –४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा हावाहुरीसहित आएको चट्याङ लागेर उनी घाइते भएका हुन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ ।
सोही समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घरनजिकै रहेको गाईको गोठमा बाँधिराखेको एउटा गाई वर्षासंगै परेको चट्याङले लागेर घट्नास्थलमै मरेको छ । घरभित्र बसिरहेकी डम्बरकुमारी समेतलाई चट्याङले भेटी उनी सामान्य घाइते भएकी छन् । मुखमा सामान्य जलेको डम्बरकुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ देउराली बस्ने ७० वर्षीय सूर्यबहादुर बस्नेतको घर र गोठमा चट्याङ पर्दा घरमा बसिरहेका बस्नेत घाइते भएका छन् । उनको शरीरको दाहिने भागमा चोट लागेको छ । उनलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ । उनको गोठ घरमा बाँधेको एउटा गोरु र एउटा भैसीको पाडो घटनास्थलमै मर्दा अन्दाजी ६५ हजार बराबरको क्षति भएको छ ।
त्यस्तै धनकुटा पाख्रीबास –७ थाक्ले बस्ने ५० वर्षीया टिकाकुमारी भण्डारी आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङको झड्काले लागेर घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै अबिरल बर्षासंगै परेको चट्याङले लागेर संखुवासभा खाँदबारी ४ बरालगाउँ बस्ने योगराज बरुवालको गोठमा बाँधिराखेको लैनो भैसी मरेको छ ।