झापा,जेठ २९ । अबदेखि सेवानिवृत्त कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

सेवाबाट अवकाश भएपछि कर्मचारीले आफूलाई स्वतन्त्र भएको महसुस गर्दै आए पनि सरकारले भने सेवानिवृत्त कर्मचारीलाई पनि निश्चित दायरामा बाँध्ने गरी व्यवस्था गर्न लागेको हो ।
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले राष्ट्रिय हितविपरीत हुने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ सेवा प्रदान गर्न नहुने, छुवाछूत, जातीय विभेदलाई प्रश्रय दिने कार्य गर्न गराउन नहुने, कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम र व्यवहार गर्न नहुने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती गर्ने, अदालतका अवहेलना गर्नेलगायतका कार्य गर्न÷गराउन नहुने गरी सेवानिवृत्त कर्मचारीलाई सीमाभित्र राख्न लागिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले सेवानिवृत्त कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने गरी आचारसंहिता प्रस्ताव गरिएको बताए । समितिले प्रतिवेदन मुख्यसचिवलाई बुझाइसकेको र मुख्यसचिवबाट उक्त प्रतिवेदनको मसौदाउपर राय सुझावका लागि सबै मन्त्रालयमा पठाइएको छ । मन्त्रालयहरूबाट राय आएपछि उक्त आचारसंहिता कार्यान्वयनमा ल्याइने छ ।
अन्तर्राष्ट्रियस्तरमा पनि सेवानिवृत्त कर्मचारीलाई कानुनी दायराभित्र बाँध्ने गरी कानुनी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सेवानिवृत्त कर्मचारीबाट विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक कलह बढ्ने वा हिंसा भड्कने गरी टिप्पणी गर्न नहुने, आफूले सरकारी कर्तव्य पालना गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानुनद्वारा निषेधित विषय र सेवामा रहँदा ज्ञात हुन आएको कुनै सरकारी गोप्य कुरा आधिकारिक व्यक्तिबाहेक अरूलाई बताउन नहुने गरी समितिले मुख्यसचिवलाई बुझाएको प्रतिवेदनको मसौदामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्