झापा, जेठ ३० । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै गएराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश दिएका हुन् ।

२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्वराजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँसहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएको थियो। प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भिमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशिल पन्त, लवकुमार मैनाली, अधिवक्ता दिपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले प्रतिवादी तर्फका कानुन व्यवसायीले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै उनको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था गर्न पनि भनेको छ।

अधिवक्ता स्वागत नेपालका अनुसार, अदालतको इतिहासमा यस्तो प्रकारको आदेश पहिलो पटक भएको हो, जसमा थुनामा रहेका व्यक्तिको उपचारको व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँबाहेक अन्य ६ जनालाई समेत काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही,दण्डपाणि रेग्मी, सुशिल बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ ।

आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, पुष्कर खतिवडा २० हजार, मुनेन्द्र राजभण्डारी १० हजार, कुमार बस्नेत २० हजार, अनिलकुमार थापा १० हजार, तारानाथ बोहरा १० हजार, दानबहादुर न्यौपाने १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवीप्रसाद संग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओमप्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजनकुमार गिरीसँग ५० हजार र प्रेमबहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।

रमेश राईलाई २० हजार, दिवस बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न आदेश दिइएको छ ।
त्यस्तै अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोजकुमार सापकोटासँग १० हजार

धरौटी लिन आदेश गरिएको छ । तीनकुनेमा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन गरेको थियो । प्रदर्शन स्थलमा आगजनीमा परेर पत्रकार सुरेश रजक र प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्