झापा, जेठ ३० । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईँ अदालतको आदेशलाई सम्मानका साथ स्वीकार गर्दै हाँसी हाँसी जेल गएका छन् ।


तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै गएराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले प्रसाईँलाई थुनामा पठाउने आदेश दिएका थिए । अदालतको आदेशसंगै प्रसाईँसहित सातजनालाई राति १ बजे डिल्लीबजार कारागार चलान गरिएको हो । अदालतको आदेशपछि एक सन्देश जारी गर्दै प्रसाईले आफू कति पनि बिचलित नभइ हाँसी हाँसी जेल जान तयार भएको बताएका छन् । आफूले यसलाई हाँसी हाँसी स्विकारेको उनले उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन् , ‘२०८१ साल, चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजित हाम्रो शान्तिपूर्ण कार्यक्रममाथि राज्यले गरेको बर्बर दमन र षड्यन्त्रको चक्रव्यूँहमा परेर म लगायत दर्जनौँ देशभक्त न्यायप्रेमी अभियन्ता साथीहरूविरुद्ध लगाइएका झुटा मुद्दाहरूमा आज ७८ दिनपछि काठमाडौं जिल्ला अदालतमार्फत जुन फैसला भएको छ ,सर्वप्रथम म सम्मानित न्यायालयप्रति म र मेरो अभियानको तर्फबाट उच्च सम्मान प्रकट गर्दछु।

न्यायालयबाट मलाई आपराधिक उपद्रव मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने निर्णय भएको छ । म कति पनि बिचलित नभइ हाँसी हाँसी जेल जान तयार भएको कुरा सबै सामु अवगत गराउँदछु । मैले यसलाई हाँसी हाँसी स्विकारिरहेको छु । यो निर्णयले मेरो शरीर त के रांै पनि हल्लिने छैन । किनकि म तस्कर दलाल र भ्रष्ट होइन । मैले देश र जनता बेचेर खाएको छैन । कहिल्यै कुनै पनि गलत काम गरेकै छैन ।

मलाई बिश्वास छ , सत्यको शक्ति अगाडि झुट कहिल्यै टिक्दैन। भगवानको घरमा ढिलो हुन सक्छ, तर अन्याय हुँदैन।
सत्य सावित गर्न मैले पटक–पटक अग्निपरीक्षा दिइरहेको छु। म कति पनि गलेको छैन । तपाईंहरू धैर्य गर्नुहोस्, म सत्य र आत्मबिश्वासमा अडिग रहने छु । मभित्र अथवा वाहिर हर असत्यका हरेक पासाहरुलाइ पलपल जितिरहेको छु। मैले हरेस खाएको छैन, न त विचलन नै भएको छु। यो तस्कर र भ्रष्ट सरकारसँग म बाँचुन्जेल घुँडा टेक्ने र शिर झुकाउने छैन। शरीरमा एक थोपा रगत र एक मठी सास रहेसम्म लड्छु र भ्रष्टहरूलाई घुँडा टेकाएरै छोड्ने छु।

इतिहासका कालखण्डहरुमा सरकारले गरेको अन्याय र नागरिक दमनविरुद्ध आवाज बुलन्द गर्दा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा लगायतका योद्धाहरूलाई मृत्युदण्डको सजाय दिइएको थियो ।जसको बलिदानले युग मात्र परिवर्तन भएन, मरेर पनि इतिहासका पानामा सदा सदाका लागि जीवित भए । त्यही आत्मविश्वास र साहसले म पनि अघि बढिरहेको छु। काठमाडौंको कुलेश्वरमा रहेको त्यो ऐतिहासिक खरीको बोट अझै जीवित छ, मलाई त्यही खरीको बोटमा लगेर झुण्ड्याऊ । पटक पटक थुन । मेरो आस्था विचार र स्वाभिमान न झुक्छ न थुनिने नै छ । यो त झन् अजर,अमर र अभिनाशी भएर नेपालीका मन मुटुमा चम्किरहने छ । तिमी भ्रष्टहरुसंग म कदापि झुक्ने छैन । मलाई यिनीहरुले थुनामा राख्न वा शारीरिक रूपले समाप्त गर्न सक्लान्, तर मेरो देश र जनताप्रतिको माया र समर्पण कहिल्यै समाप्त हुने छैन । किनकी मैले देखेको सपना र रोपेको बिरुवा स्वार्थको होइन, देश र जनताप्रति सेवा र समर्पणको हो ।म मरे मारिए पनि मेरा विचार अब सदा जीवित रहने छन् ।

यसर्थ, मेरा सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक मान्यजनहरूलाई म शान्ति, धैर्य र साहसका साथ कति पनि विचलित नभइ मेरो प्रतीक्षा गर्न हार्दिक अनुरोध गर्दछु।

म भ्रष्ट र तस्करहरूले लगाएका सारा झुटा मुद्धाका पर्खालहरुलाई एक–एक गरि भत्काउँदै , समाप्त पारेर, तपाईंहरूको पीडा र अभावमा मल्हमपट्टी लगाउन छिट्टै आउनेछु। तबसम्म मलाई पर्खिरहन सबै सबैमा म हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्