झापा, जेठ ३० । हात्तीका लागि थापेको विद्युतीय धरापमा झापा कचनकवलका ६५ वर्षीय तीर्थनाथ खनालको ज्यान गएको पहिलो घटना होइन ।

हात्तीबाट जोगिन गैरकानुनी रुपमा गरिने जोखिमपूर्ण विद्युतीय तारवारले धेरै अप्रिय घटना भइसकेका छन् । हात्तीबाट जोगिन आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट लागेर बुधवार बिहान कचनकवल ७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनालले ज्यान गुमाउनु पर्यो । आफ्नै बारीमा बाख्रा चराउनको लागि गएकोमा तारबारमा छुन पुगी उनको घटनास्थलमै मृत्यु भयो ।

यसअघि जेठ २३ गते कनकाई वडा नं. २ जामुनखाडीमा हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका थिए ।कनकाई वडा नं. २ जामुनखाडी बस्ने फरकबहादुर बस्नेतको करेसाबारीमा लगाएको बोडी टिप्न जाँदा ८ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कनकाई २ बस्ने ६४ वर्षीय फरकबहादुर बस्नेत , २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की , १८ वर्षीय सलिन कार्की , ३५ वर्षीय गोपाल बस्नेत , ५८ वर्षीया डम्बरकुमारी बस्नेत , २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका थिए ।

झापामा दुई वर्षअघि पनि हात्तीवारमा करेन्ट लागेर एकजनाको ज्यान गएको थियो । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको तारमा करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका एकजनाको मृत्यु भएको थियो । पिसाब फेर्न निस्किँदा करेन्ट लागेर ४९ वर्षिय खेम श्रेष्ठको मृत्यु भएको थियो । श्रेष्ठले हात्ती धपाउन आफ्नो घर वरिपरि तार टांगेका थिए ।

हात्ती प्रभावित क्षेत्रका मानिसहरुले गैरकानुनी रुपमा त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् । नांगो तार टांग्दा हात्ती मात्र मरेका छैनन् , धेरै मानवीय क्षतिसमेत हुँदै आएको छ । मानिसहरुले गैरकानुनी रुपले हात्तीवार लगाउँदै आएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए । उनले सोही हात्तीवारबाट धेरै हात्तीहरु मरेको बताए । केही दिनअघि मात्र केर्खामा करेन्ट लागेर एउटा हात्ती मरेको थियो । गैरकानुनी ढंगले टांगिएका हात्तीवार हटाइदिन आफूहरुले नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको उनले जानकारी दिए ।

हात्ती प्रभावितहरुले बाध्यताका कारण हात्तीवार लगाउनु परेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । सरकारले जंगल वरिपरि सोलार फेन्सिङ गरेपनि जंगलभित्र हात्तीलाई राख्न सकिरहेको छैन । हात्ती प्रभावितहरुले आफ्नो जीउ ज्यान र बालीनाली जोगाउन हात्तीवारको जोखिम मोल्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्