झापा,जेठ ३०। सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ ।

देशमा विद्यमान बेरोजगारी तथा युवाको विदेश पलायनका चुनौतीलाई समाधान गर्ने उद्देश्यले क्याम्पसहरुको प्रस्तावमा आधारमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू छनोट गरी उक्त कार्यक्रम अगाडि बढाएको छ। ‘उद्यमशीलतासम्बन्धी पाठ्यक्रम’ तयार गरी युवा शिक्षक, विद्यार्थी तथा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको ५ वर्ष ननाघेका पूर्व विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराइनेछ ।
आफ्नै स्टार्टअप उद्यम स्थापना तथा विकासमा सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो । यसै सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगबाट छनोटमा परेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजले आफ्ना विद्यार्थीलाई सो कार्यक्रममा सहभागी हुन शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एन. आर. कलेजका क्याम्पस प्रमुख राजिप धितालले छनोट भएका विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी तालिम तथा सहयोग कार्यक्रममा सहभागी गराइने बताउदै आयोगको सहयोगमा पाँचदेखि ४० लाख रुपियाँसम्म बिना ब्याजको ऋण दिइने बताए । उनले यो वास्तविकरुपमा सहकारी मोडलको कार्यक्रम रहेको जानकारी दिए ।

कलेजले उद्यमशीलताका लागि आवेदन आह्वान गरेको र परेका आवेदनहरुमध्ये छनोट भएका नवउद्यमीहरूलाई विभिन्न विषयमा ४० घण्टाभन्दा बढीको पाठ्यक्रममा आधारित प्रशिक्षण दिएर प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ।

उद्यमशीलता, सिर्जनाशीलता, नवीनता र आइडिया विकास, बिजिनेस मोडल क्यानभास निर्माण, व्यवसाय दर्ता, बजार व्यवस्थापन, रणनीति विकास, मानव संसाधन, लेखा तथा वित्तीय योजना, लगानी सङ्कलन र विस्तृत व्यवसाय योजना निर्माण, व्यवसायका लागि सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता विविध विषयमा प्रशिक्षण दिइनेसमेत जानकारी गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्