झापा, जेठ ३० । नेपाल डेन्टल एसोसिएसनले लाइसेन्सको दुरुपयोग रोक्न दन्त चिकित्सकलाई निर्देशन दिएको छ।

एसोसिएसनले सूचना जारी गर्दै लाइसेन्सको दुरुपयोग रोक्न दन्त चिकित्सकलाई निर्देशन दिएको हो।

दन्त चिकित्सकले आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकमा आफ्नो नाम जोड्नुका साथै लाइसेन्स अन्य व्यक्ति वा संस्थालाई बिक्री वा भाडामा दिएको भन्ने गुनासो प्राप्त भएकाले यस्तो निर्देशन दिएको एसोसिएसनका महासचिव डा प्रदीप भण्डारीले जानकारी दिए।

यस्ता कार्यमा संलग्न चिकित्सकले तुरुन्तै आफ्नो नाम हटाउने र लाइसेन्सको दुरुपयोग रोक्न डा. भण्डारीको अनुरोध छ। यदि यसो नगरेमा आवश्यक अनुशासनात्मक र कानुनी प्रक्रिया अगाडि बढाउने एसोसिएसनले चेतावनी दिएको छ।

यस प्रकारका कार्यले एसोसिएसनको आचारसंहिताको उल्लङ्घन मात्र होइन, पेशागत मर्यादा र कानुनी दायित्व प्रतिको गम्भीर बेवास्ता भएको एसोसिएसनको ठहर छ।

साथै, हालसम्म क्लिनिक दर्ता नगराई सञ्चालन गरेका चिकित्सकलाई यथाशीघ्र सम्बन्धित निकायमा क्लिनिक दर्ता गराई, नवीकरण प्रक्रिया पुरा गर्न उनले अनुरोध गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्