झापा, जेठ ३० । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेयता पहिलो पटक झापामा संक्रमण देखा परेको छ ।

बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । हिजो बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा ती महिलाको रिपोर्ट पोजिटिभ आएको प्रहरी स्रोतले जनाएको छ ।
कोरोनासंग मिल्ने लक्षण पाइएपछि एन्टीजेन टेस्ट गराउँदा आज रिपोर्टमा पोजिटिभ देखिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले ती संक्रमित महिलासहित घरका सबै सदस्यहरुलाई होम आइसोलेसनमा राखिएको जानकारी दिए । खड्काका अनुसार तीन दिनपछि सम्पूर्ण सदस्यहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिने छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। घरमै बस्ने गरेकी ती महिलालाई कसरी सर्यो भनेर खुल्न सकेको छैन ।
यसअघि कोरोना संक्रमणबाट झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए । त्यसमध्ये ६७२ जनाको मृत्यु भएको थियो । झापामा १ लाख ३८१ जनालाई पीसीआर टेस्ट र ४२ हजार ४१० जनालाई एन्टीजेन टेस्ट गरिएको थियो ।