झापा, जेठ ३० । मोरङमा सर्पले डसेर फेरि एकजनाको मृत्यु भएको छ ।


आज बिहान ६ बजेतिर सर्पले डसेर मोरङ पथरीशनिश्चरे नगरपालिका ६ मंगलबारे बस्ने ६० वर्षीया मेघादेवी मण्डलको मृत्यु भएको हो । उनलाई आफ्नै घरमा आँगन बढार्ने क्रममा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो । उनलाई उपचारको लागि दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले डसेर मोरङमा हिजो पनि एक जनाको मृत्यु भएको थियो । बेलबारी नगरपालिका–५ सोमबारेकी एक बालिकाको सर्पले डसेर हिजो दिउँसो मृत्यु भएको थियो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सर्पले टोकेर घरमै सुतिरहेकी सीता रायमाझीकी ८ वर्षीया छोरी सन्ध्या रायमाझीको मृत्यु भएको हो। बालिकालाई दिउँसो ४ बजेतिर सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन्।

गम्भीर घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी चुँडालले दिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्