झापा, जेठ ३१ । मेची राजमार्गस्थित हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किएर खसेको छ । पुल खस्दा ६जना मजदुर गंभीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा बारा सिमरा १२ बस्ने २२ वर्षीय रूपलाल चौधरी (बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भीर), सोही ठाउँ बस्ने २७ वर्षीय राजन चौधरी ( पिठ्युँमा चोट ,अवस्था बोल्न नसक्ने गम्भीर), २२ वर्षीय राकेश चौधरी( बाहिरी चोट नदेखिएको, तत्काल अवस्था बोल्न नसक्ने गम्भीर , थप उपचारको लागि सुविधासम्पन्न अस्पताल झापातर्फ रेफर भएको ) , २५ वर्षीय भुलेश्वर चौधरी( दायाँ खुट्टा भाँच्चिएको ,तत्काल अवस्था बोल्न नसक्ने गम्भीर ),३५ वर्षीय प्रकाश चौधरी( टाउको र शरीरको विभिन्न भागमा चोट, तत्काल अवस्था बोल्न सक्ने मध्यम )र ३० वर्षीय अभिषेक चौधरी( टाउकोमा चोट, तत्काल अवस्था मध्यम) रहेका छन् । घाइते कामदारहरूलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो । त्यहाँबाट केहीलाई झापातर्फ रेफर गरिएको जनाइएको छ ।
पहिलो पटक २०८० साल असार २ गते आएको बाढीले त्यहाँ लगाइएको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो । पुनः २०८१ असोज १२ गते सो बेलिब्रिज बगेपछि पुनः मोडुलर (बेलिब्रिज) बनाइँदै थियो । पुल के कारणले र कसरी खस्यो भन्ने खुल्न सकेको छैन ।