झापा, असार १ । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने अर्का सांसद्सहित दुई जना घाइते भएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो । संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
स्टेट सिनेटर जोन हफम्यान र स्टेट रिप्रेजेन्टेटिभ मेलिसा होर्टम्यानमाथि उनीहरुको घरमा हमला भएको हो । जसमा हफम्यान घाइते भएका छन् । जबकि मेलिसा होर्टम्यान र उनका पतिको सो हमलामा मृत्यु भएको छ । बन्दुकधारीहरुले आक्रमण गर्न सक्ने अन्य ७० जनाको सूची बरामद भएको बताइएको छ ।
मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो भने प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उनका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।
होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए ।