बिर्तामोड , असार १ । नेत्रहीन युवा संघ नेपाल झापा शाखाको अध्यक्षमा रोशन थापा सर्वसम्मत चयन भएका छन्।

हिजो बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट आगामी तीन वर्षका लागि थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा होमेन्द्र नंगेल, सचिव मुना भट्टराई, कोषाध्यक्ष मिना गिरी, सह–सचिव निर्मला कार्की तथा सदस्यहरूमा पवित्रा तामाङ, गोविन्द न्यौपाने, शम्भु राजवंशी र दीपक तामाङ चयन भएका छन्। समिति चयन गर्न कलाधर भण्डारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

यसअघि संघका अध्यक्ष दिलकुमार राजवंशीको अध्यक्षता र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नेत्रहीन युवा संघका केन्द्रीय सल्लाहकार कलाधर भण्डारी , नेत्रहीन युवा संघ नेपाल झापाका सल्लाहकार द्रोणाचार्य निरौला, झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशी, हल्दीबारी जेसीजकी अध्यक्ष युनिता दवाडी,करुणा फाउन्डेसनका जिल्ला संयोजक निश्चल घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा स्वागत उपाध्यक्ष रोशन थापा र सञ्चालन सह–सचिव राज घिमिरेले गरेका थिए। कार्यक्रममा संघका कार्यालय सहयोगी बिमल भट्टराईले तीन वर्षे प्रगति विवरण प्रस्तुत गरेका थिए । नेत्रहीन युवा संघ नेपाल झापामा ३७ जना सदस्य रहेको जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्