झापा, असार १ । अविरल वर्षासंगै झरेको पहिरोका कारण इलाम सूर्योदय नगरपालिका ४ श्रीअन्तुस्थित प्रहरी चौकी श्रीअन्तुको कार्यालय जोखिममा परेको छ ।

प्रहरी चौकीको भान्सा पछाडीको भागबाट श्रीअन्तु–फिक्कल भित्री सडकखण्डमा पहिरो झरेको हो । जसका कारण प्रहरी चौकीको भान्सा भवन जोखिममा परेको हो । श्रीअन्तु–फिक्कल भित्री सडकखण्ड एकतर्फी सुचारु रहेको छ । प्रहरी चौकी श्रीअन्तुबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मोतिबहादुर कटुवालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तहसंग जेसीबी मागिएको छ ।

त्यस्तै आज बिहान धनकुटा चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन तमोर करिडोर सडकखण्ड अन्तर्गत छरुवा खोलामा अबिरल बर्षाका कारण बाढी आई आवत जावत अवरुद्ध भएको छ । केही बेरअघि खोलामा पानी घटेपछि दुबैतर्फ सवारी साधन सुचारु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० बिजुलेमा रातभरि परेको अबिरल बर्षाका कारण दुईवटा घरको पर्खाल लडेर क्षति भएको छ । कृष्णबहादुर पुरीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरको भुइँतलाको पूर्व साइडमा रहेको पर्खाल र गंगामाया पुरीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले मतानको पूर्व साइडमा रहेको पर्खाल लडेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्