झापा, असार १ । पाँचथरमा चिर्पटले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका वडा नं.१ सिङहाङ गाउँ बस्ने ललित राई रहेका छन् । जेठ २९ गते साँझ ७.४५ बजे राईकी श्रीमती ४८ वर्षीया तारादेवी राई आफ्नो सुत्ने घरको खाटबाट अचानक लडेर घाइते भएको भन्दै अस्पताल भर्ना गरिएको थियो ।स्थानीय मेडिकल फाक्तेपमा सामान्य उपचारपश्चात् थप उपचारको जिल्ला अस्पताल फिदिममा भर्ना गरिएको थियो । उपचारका क्रममा जेठ ३० गते बिहान २ः१७ बजे उनको मृत्यु भएको हो ।

घटनास्थलको प्रकृति अनुसार शंकास्पद देखिएकोले उपचारमा संलग्न श्रीमान्लाई सोही दिन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । हिरासतमा राखी अनुसन्धान गर्दा श्रीमान–श्रीमतीबिच विवाद हुँदा श्रीमानले उत्तिसको चिर्पटले प्रहार गरी घाइते बनाएका थिए । मृतकका छोरा सुन्दर राईले कर्तव्य ज्यान मुद्धामा जाहेरी दर्ता गरेपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँचथरकै फिदिम–६ सिवा मलुवा बस्ने ३२ वर्षीय रविन तुम्रोकलाई सामान्य घरायसी विवाद हुँदा उनकै श्रीमती २८ वर्षीया फुलमाया राईले खुकुरी प्रहार गरेकी छन् । टाउको र दुवै हातमा खुकुरी प्रहारबाट घाइते रविनलाई उपचारको लागि गएराति १० बजे जिल्ला अस्पताल पाँचथर ल्याइएको छ । खुकुरी प्रहार गर्ने फुलमाया फरार रहेकीले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ओखलढुङ्गा खिजीदेम्बा ९ छेरमादिन बस्ने ५१ वर्षीय राप्ते शेर्पाले श्रीमतीलाई खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् ।

गएराति ११ः२० बजे शेर्पाले घरायसी विवादका कारण आफ्नै श्रीमती ५४ वर्षीया एन्जी शेर्पालाई खुकुरीले टाउकोमा प्रहार गरेका थिए । खुकुरी प्रहारबाट एन्जीको टाउकोमा चोट लागेको छ । श्रीमतीलाई खुकुरी प्रहार गरेपछि शेर्पाले स्याउको बोटमा छर्किने मेटासिड विषादी सेवन गरेका थिए । अचेत अवस्थामा रहेका श्रीमान र घाइते श्रीमती दुबै जनालाई उपचारको लागि खिजिदेम्बा आधारभूत अस्पताल खिजिफलाटे पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्