झापा, असार १ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो ।


आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको रानाले जनाएका छन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको जानकारी दिए ।

विराटनगरस्थित शैलजा हृदयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । साथै, प्रदेशभर स्वास्थ्य चेतना अभिवृद्धि गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक अभियान सञ्चालन गरिने योजना छ ।

प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने औषधि खरिदका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ । खोटाङमा प्रशोधन केन्द्र स्थापना गर्न ३ करोड रुपैयाँको व्यवस्था गरिएको छ ।

१० वर्षभन्दा कम उमेरका बालबालिकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउने नीति बजेटमा समेटिएको छ । साथै, विद्यालय नर्सिङ स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ भने प्रदेशस्तरीय ल्याब सुदृढीकरणका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ।

मन्त्री रानामगरले सर्वसुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बजेटको प्राथमिकता तय गरिएको स्पष्ट पारे । प्रदेश सरकारका अनुसार आगामी वर्षदेखि स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर, पहुँच र परिणाममुखी सुधार ल्याउने तयारी गरिएको छ ।

त्यस्तै कृषि, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । फलफूल उत्पादन, प्रशोधन र बजारीकरणका लागि १६ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । सो कार्यक्रम स्थानीय सम्भाव्यता, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गरिनेछ । कृषकलाई सहज ऋण उपलब्ध गराउने उद्देश्यले कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गुणस्तरीय पशुपालन प्रवद्र्धन तथा खोरेतलगायत महामारी नियन्त्रण गर्न २२ करोड रुपैयाँ असल पशुपालन कार्यक्रमअन्तर्गत खर्च गरिनेछ । प्रदेश सरकारले चक्रिया कोष स्थापनाका लागि २ करोड रुपैयाँ छुट्याएको छ भने चिया सम्मेलन आयोजनाका लागि पनि २ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

पर्यटन वर्षका निम्ति पुनः १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटन, वन तथा वातावरण क्षेत्रका निम्ति जम्मा २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए । कोशी सरकारले गत चैतमा तीनजुरे मिल्के क्षेत्रमा औपचारिक कार्यक्रम गरी २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्