झापा, असार २ । पूर्वमा एकैदिन दुईवटा जंगली हात्ती मृत फेला परेका छन् ।

झापाको मेचीनगर र सुनसरीको बराहक्षेत्रमा एक–एक वटा हात्ती मृत फेला परेका हुन् । त्यस्तै हात्तीको आक्रमणमा मेचीनगर १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्ण बहादुर श्रेष्ठ घाइते भएका छन् ।

आज बिहान ८ः५५ बजे मेचीनगर नगरपालिका .१ गणेश टोलस्थित मकैबारीमा जंगली पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । प्रहरी चौकी तिरिङखोलाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका २ रेल्वे लाइन बस्ने प्रल्हाद थापा र मिना राईको मकैबारीको सिमाना आलीमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

यता आज बिहान ४ः३५ बजे मेचीनगर नगरपालिका १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । आफ्नै बारीमा आएको एकल जंगली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

आज दिउँसो पनि मेचीनगर–२ मा जंगली हात्तीको बथान नै पसेको छ । जसका कारण यहाँका स्थानीय नागरिक त्रसित छन् । बिहानदेखि नै मेचीनगर–२ स्थित मगर डाँडामा भने २० वटाभन्दा बढी जंगली हात्ती डुलिरहेका छन् । उक्त हात्ती चिया बगान, बाँसघारी लगायतका स्थानमा छलिँदै भौंतारिरहेको स्थानीय प्रबिन चापागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्