झापा, असार २ । सबै मानिसको आ–आफ्नो घरपरिवार हुन्छ । तर आफ्नो घरपरिवार छोडेर बेवारिसे हुने क्रम पछिल्लो समय बढेको छ । बेवारिसे अबस्थामा मृत फेला पर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

आज झापामा एकजनाको बेवारिसे शव फेला परेको छ भने एकजना अपरिचित व्यक्ति अचेत अबस्थामा भेटिएका छन् ।
आज बिहान ८ः३० बजे बिर्तामोड वडा नं. १ मा रहेको हिरो मोटरसाइकल कम्पनीको सो रुमको सटर अगाडि मागी खाएर हिड्ने तत्काल नाम थर वतन नखुलेको ,हेर्दा तराईवासी मुलको जस्तो देखिने अन्दाजी बर्ष ६५का वृद्ध नांगो अबस्थामा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।स्थानीयले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि मृतकको सनाखत तथा पहिचान गर्ने कार्य भइरहेको जनाइएको छ ।
त्यस्तै मेचीनगरमा एक अपरिचित व्यक्ति अचेत अबस्थामा भेटिएका छन् । आज दिउँसो ४ बजे मेचीनगर नगरपालिका वडा नं. –१० हिमालय टोलस्थित भित्री बाटोको छेउमा तत्काल नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी बर्ष ३५ का पुरुष बिरामी भई अचेत अबस्थामा फेला परेका हुन् । स्थानीयले देखेर इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर बिरामीलाई मेची आम्दा अस्पताल धुलाबारीमा ल्याई उपचार भइरहेको र अबस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
वर्ण गहँुगोरो ,उचाई अन्दाजी ५.३ फिट,छोटो छोटो दारी जुँगा,कपाल कालो घुँग्रिएको,खैरोमा कालो बुट्टा भएको फुल भेष्ट र कालो ट्रयाक पाईन्ट लगाएको हुलिया रहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिएका छन् ।
उता मोरङको उर्लाबारी ३ धिमाल जातीय विकास केन्द्रको आयोजनामा धिमाल जातिको साँस्कृतिक पर्व जातिरी÷ सिरिजात समापन कार्यक्रम भइरहेको स्थानमा एक व्यक्तिको मृत्यु भएको छ । कार्यक्रम भइरहेको चौरमा तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष ३५ का पुरूष बेहोस अवस्थामा फेला परेपछि उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पुर्याउनसाथ चिकित्सकले मृत्यु भइसकेको थियो । वर्ण श्याम्लो, केश कालो, छोटो, पातलो शरीर, कालो पेन्ट, कोठे सेतो सर्ट र भित्र गन्जी लगाएको, हेर्दा धिमाल वा सन्थाल जस्तो देखिने प्रहरीले जनाएको छ ।
त्यस्तै उदयपुरको कटारी नगरपालिका .६ बकपतिस्थित मदन भण्डारी राजमार्ग छेउको खाली चौरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बेवारिसे अवस्थामा मृत फेला परेका ती युवकले शरीरमा माथि कपडा नलगाएको, तल कालो पाईन्ट, सेतो कलरको चप्पल र कालो कपाल भएको नाम थर वतन नखुलेको अन्दाजी बर्ष १७ को जस्तो देखिने प्रहरीले जनाएको छ ।
झापामा केही दिनदेखि प्रायः दिनहुँजसो बेवारिसे शव फेला पर्दै आएको छ । केही दिनअघि एकैदिन तीनजनाको बेवारिसे शव फेला परेको थियो । पहिला बेवारिसे शव फेला पर्ने र पछि सनाखत हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।