झापा, असार ३ । वीरता लेडी जेसीज बिर्तामोडले बुद्धशान्ति गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी लाभान्वित भएका छन् ।

‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्दै वीरता लेडी जेसीजले हिजो बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएको बताए ।उनले वीरता लेडी जेसीज जस्ता सामाजिक संस्थाले नागरिकको स्वास्थ्यप्रति देखाएको संवेदनशीलता र सक्रियताको प्रशंसा गर्दै यस्ता कार्यमा गाउँपालिकाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले विभिन्न सामाजिक तथा आर्थिक कारणले आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको बताइन् । ‘स्वस्थ समाज, समृद्ध राष्ट्र’ को अभियानलाई साकार पार्न यो शिविर एक सानो पाइला भएको उनको भनाइ थियो ।

शिविरमा बीएण्डसी टिचिङ अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्ता आई केयर प्रा. लि. को प्राविधिक सहयोग रहेको थियो । शिविरमा क्यान्सर विशेषज्ञ डा. कुशल रिजाल,फिजिसियन डा. नौसद अली ,स्त्री रोग विशेषज्ञ डा. सुरुचि महत्तो,बाल रोग विशेषज्ञ डा. सञ्जीव के. शाह ,हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मिलन सुन्दासले सेवा दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बुद्धशान्ति–४ का वडाध्यक्ष शेरबहादुर राय तथा बीएण्डसी मेडिकल कलेजका म्यानेजमेन्ट डाइरेक्टर खोम घिमिरेले शुभकामना मन्तव्य राख्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताएका थिए ।

कार्यक्रम संयोजक पार्वती श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मुना ढुंगेल र उपाध्यक्ष भावना बस्नेतले क्रमशः आस्था र मिसन–भिजन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई महासचिव प्रभा रायाले सञ्चालन गरेकी थिइन् ।

वीरता लेडी जेसीजले विभिन्न सामाजिक कार्यहरु लगातार गर्दै आएको छ । यसअघि जेठ २२ गते वृक्षरोपण तथा संरक्षण कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्