बिर्तामोड, असार ३ । दुई वर्षअघि स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि गरिएको पहिलो हेल्थ टुरिजम मार्टले सहयोग पुगेपछि यस वर्ष दोस्रो संस्करण गरिने भएको छ ।

यही असार १४ गते झापाको बिर्तामोडमा दोस्रो हेल्थ टुरिजम मार्ट गरिने भएको हो । कोशी प्रदेशभित्रका बिशेष गरी झापाका प्रमुख अस्पताल , क्लिनिक , आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्रहरु साथै पर्यटन व्यवसायी , ट्राभल एजेन्सी र होटल व्यवसायीहरुलाई लक्षित गरी बिर्तामोडलाई स्वास्थ्य र पर्यटनको संगमस्थल बनाउने दीर्घकालीन दृष्टिकोणका साथ मार्ट गराउन लागेको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहेको बेला हेल्थ टुरिजम मार्टमार्फत नेपालीका साथै छिमेकी राष्ट्र भारत, बंगलादेश र भुटानका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा उपचारको जानकारी र सहज पहुँच दिन सकिने अपेक्षा गरिएको कार्यक्रम संयोजक शेखर ढकालले जानकारी दिए ।

स्वास्थ्य सेवा र पर्यटन व्यवसायीबीच सहकार्यको वातावरण सिर्जना गर्नु , नेपालका गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन गर्नु , पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रुपमा परिचय गराउनु , स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण र सहकार्यका लागि आधार तयार गर्नु , सामुदायिक स्वास्थ्य सचेतना र प्रविधिमैत्री उपचार प्रवर्द्धन गर्ने उद्धेश्य रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कोशीका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

मार्टमार्फत स्वास्थ्य र पर्यटनको एकीकरण, दिगो विकासको सम्भावना, सीमापार स्वास्थ्य पर्यटनको सम्भावना, स्थानीय अर्थतन्त्रमा योगदान, होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायतका क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए ।

नेपाल पर्यटन बोर्डको आयोजना , पर्यटन कार्यालय काँकरभिट्टा र होटल व्यवसायी संघ झापाको सहआयोजना तथा नाट्टा कोशी प्रदेशको सहकार्यमा मार्ट हुने भएको हो । पत्रकार सम्मेलनमा नाट्टाका महासचिव नवीन खरेल , होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ , महासचिव शिवराज पौडेलले पनि हेल्थ टुरिजम मार्टको महत्वबारे प्रकाश पारेका थिए ।

दुई वर्षअघि बिर्तामोडमा पहिलो हेल्थ टुरिजम मार्ट संचालन गरिएको थियो । त्यसबाट झापाका स्वास्थ्य संस्थाहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुगेको थियो । पहिलो हेल्थ टुरिजम मार्टबाट झापाका आँखा अस्पतालहरुका बारेमा अझ धेरै प्रचार भएर स्वास्थ्य पर्यटकहरुको संख्या बढेको दृष्टि आँखा अस्पतालका अध्यक्ष राम उप्रेतीले बताए । उनले आफ्नो अस्पतालमा सेवा विस्तारका कारणले पनि सेवाग्राहीहरुको संख्या थपिएको जानकारी दिए ।

यस वर्षको पहिलो हेल्थ टुरिजम मार्ट बिर्तामोडको सिटी सेन्टरमा गरिने भएको छ । जसमा करिव सयवटा स्टल रहने छन् । मार्ट आयोजनाका लागि नेपाल पर्यटन बोर्डले ५ लाख रुपैयाँ खर्च गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्