झापा, असार ३ । पटक पटक विवादमा पर्दै आएका कोशी प्रदेश सरकारका कृषि उद्योग तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङका अध्यक्ष रक्की थेबेलाई कुटपिट गरेका छन् ।

आज साँझ ताप्लेजुङ सदरमुकाम फुङलिङमा मन्त्री हाङगामले अध्यक्ष थेबेलाई कुटपिट गरेका हुन् । साँझ ७ः४५ बजे फुङलिङ –४ दोबाटोमा रहेको कारबु क्याफेबाट मन्त्री हाङगाम कफी खाई निस्कने क्रममा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेसंग अचानक जम्काभेट भएको थियो । त्यसक्रममा आन्तरिक विषयलाई लिएर ताप्लेजुङ प्रदेश १ ख को कांग्रेस सांसदसमेत रहेका हाङगामले थेबेलाई कुटपिट गरेका हुन् । कुटपिटबाट कोही पनि घाइते नभएको र दुबै जना आ–आफ्नो गन्तब्यतर्फ लागेको अस्थायी प्रहरी पोष्ट डाँडाटोलले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।
मन्त्री हाङगामले यसअघि पनि दादागिरी देखाएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख र हाल जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू र उनको परिवारलाई उडाइदिने मन्त्री हाङगामले धम्की दिएका थिए ।
ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक लिम्बू र उनको परिवारलाई लक्षित गरेर सार्वजनिक मञ्चबाटै ज्यान मार्ने धम्की दिएका थिए । २०८० साल भदौ २२ गतेको मेलामा भएको विवादका विषयमा दिएको उनले धम्की दिएका थिए ।
ताप्लेजुङको फुङलिङमा आयोजित मिनी मेलामा सांसद हाङगाम र त्यसबेलाका डीएसपी लिम्बूबीच भदौ २१ गते विवाद भएको थियो । विवादपछि त्यसको भोलिपल्ट हाङगामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी लिम्बू र उनका परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका थिए ।
सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको थियो । प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो । हाङगामले डीएसपी र उनका परिवारको ज्यान लिने धम्की दिएको घटनाका विषयमा छानबिन भए पनि मिलापत्र गराइएको थियो । पहुँचका भरमा सो घटना मिलाएर उनले उन्मुक्ति पाएका थिए । सो घटनामा पनि कांग्रेसले हाङगामको बचाउ गरेको थियो ।