झापा, असार ३ । कोशी प्रदेश सरकारका कृषि उद्योग तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङका अध्यक्ष रक्की थेबेलाई तीन मुक्का हानेको खुल्न आएको छ ।

आफूविरुद्ध बोलेको भन्दै उनले बाटोमै मुक्का हानेका थिए । मन्त्री हाङगाम नेपाली कांग्रेसबाट ताप्लेजुङ प्रदेश १ ख बाट निर्वाचित प्रदेश सांसद हुन् । थेवेलाई नेकपा एमालेले पाथिभरा क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
२०८४ को निर्वाचनमा हाङगामले प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरेका छन् । संघीय निर्वाचनमा उठ्ने तयारी गरिरहँदा ‘आफूविरुद्ध लाग्छ्स रे हो ’भन्दै थेबेलाई मुक्का हानेको बताइएको छ । मन्त्री हाङगामले मुक्का हानेको विषयमा भोली जिल्ला प्रशासन कार्यालयमा थेवेले निवेदन दिने बुझिएको छ ।
आज साँझ ताप्लेजुङ सदरमुकाम फुङलिङमा मन्त्री हाङगामले अध्यक्ष थेबेलाई कुटपिट गरेका हुन् । साँझ ७ः४५ बजे फुङलिङ –४ दोबाटोमा रहेको कारबु क्याफेबाट मन्त्री हाङगाम कफी खाई निस्कने क्रममा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेसंग अचानक जम्काभेट भएको थियो । त्यसक्रममा हाङगामले थेबेलाई कुटपिट गरेका हुन् ।