झापा, असार ४ । झापा कचनकवल गाउँपालिका –२ सुक्नाडिघीमा रहेको लक्ष्मीप्रसाद देवकोटा नमुना माध्यमिक विद्यालयको लापरवाहीका कारण एकजना विद्यार्थीको भविष्य अन्धकारमय बनेको छ ।


विद्यालयले कक्षा ८ को पालिका स्तरीय परीक्षामा गरेको लापरवाहीका कारण परीक्षामा सामेल भएर पनि विद्यार्थीले नतिजा पाउन नसकेका हुन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भैरवकुमार राजवंशीले कक्षा ८ को परीक्षाका लागि फारम भरेका थिए। परीक्षाको निर्धारित तालिका अनुसार परीक्षामा सामेल पनि भए । तर जब परीक्षाफल प्रकाशित भयो, उनको नतिजा आएन । उनी परीक्षामा अनुपस्थित देखिए ।

पालिकाबाट लिइने उक्त परीक्षाको लब्धांक–पत्र समेत पालिकाबाटै वितरण गरिन्छ। पालिकाले विद्यार्थी सूचीमा भैरवको नाम खोजी गर्दा उनको परीक्षा फारम नै विद्यालयले नभरेको देखियो। पालिका स्तरीय परीक्षाका लागि सम्पूर्ण विद्यार्थीहरुको विवरणसहित कक्षा ८ को परीक्षा फारम भर्ने जिम्मा विद्यालयको हुन्छ । विद्यालयले फारम नभरेर आफ्नो भविष्यमाथि खेलवाड गरेको पीडित भैरवले बताए। ‘फारम भर्न आवश्यक पर्ने रकम र फोटोसमेत विद्यालयलाई समयमै उपलब्ध गराएको थिएँ ’ उनले भने , परीक्षा समेत दिएँ तर मेरो नतिजा आएन।’ विद्यालयले छोराको फारम नभरेर भविष्यमाथि खेलवाड गरेको पीडित भैरवका पिताले गुनासो गरे।

लक्ष्मीप्रसाद देवकोटा नमुना माध्यमिक विद्यालयले पटक पटक यस किसिमको लापरवाही गर्दै आएको छ । दुई बर्षअघि कक्षा १२ मा पढ्ने ४ जना विद्यार्थीको भविष्यमाथि पनि त्यस्तै खेलवाड गर्यो । चार विद्यार्थीहरुले उक्त विद्यालयबाट १२ कक्षाको फारम भरे । उनीहरुले परीक्षा दिए तर नतिजामा अनुपस्थित देखियो। पछि बुझ्दा ती विद्यार्थीहरुको समेत फारम नभरेको पाइयो। विद्यार्थीहरुले विद्यालयकी प्रधानाध्यापक सुभद्रा अधिकारीसंग बुझ्दा उनले काठमाडौँमा बुझ्नु पर्छ भन्दै २ बर्ष झुलाएको पीडित विद्यार्थीहरुले गुनासो गरे । आफूहरु प्रधानाध्यापक अधिकारीका कारण पढाई छाडेर खाडी देशमा जान बाध्य भएको पीडित विद्यार्थीहरुको भनाई छ ।

घटना यतिमै सीमित छैन। गत बर्ष शिक्षक चाहियो भन्दै उक्त विद्यालयले बिज्ञापन खुलाई महिनौसम्म परीक्षा नगराएपछि आवेदकहरुले परीक्षा गराउनु पर्ने नत्र आफ्ना कागज पत्र र दस्तुर वापतको रु १५०० रुपैयाँ फिर्ता दिनु पर्ने अडान राखेपछि काजग पत्र मात्र फिर्ता गरिएको थियो । तर परीक्षा दस्तुर माग्दा प्रधानाध्यापक अधिकारीले ‘तपाईहरुको नाम नै इन्ट्री छैन पैसा फिर्ता दिन मिल्दैन’ भनी रित्तो हात फर्काएको आवेदकहरुले बताएका छन् ।

विद्यालयकी प्रधानाध्यापक अधिकारीले शिक्षक आन्दोलन र पालिकाले पनि अभिमुखीकरण नगराउँदा सो विद्यार्थीको फारम भराउन छुटेको स्वीकार गरिन् । उनले छुटेका विद्यार्थीको पुनः परीक्षा गराएको र नतिजा आउन बाँकी रहेको जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्