इलाम, असार ४ । ६० वर्षपछि लालपुर्जा पाएपछि इलाम रोङ–१ बड्कौैलेका बृद्ध दिलबहादुर सुब्बाको हर्षको सीमा थिएन । उनी खुशी हुँदै आफ्नो लालपुर्जा साथीसंगीलाई देखाउँदै थिए । सुब्बा जन्मदै भूमिहीन थिए । ६० को दशक पार गर्दा बल्ल उनले भूमिहीनबाट जग्गाधनी बन्ने सौभाग्य पाएका हुन् ।


मंगलवार जग्गाधनी प्रमाणपुर्जा पाएका इलाम रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीको खुसी दिलबहादुरको जस्तै थियोे । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको आयोगका इलाम अध्यक्ष प्रकाश अधिकारीले बताए ।

रोङ गाउँपालिकामा दुई सय १२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका थिए । त्यसमध्ये एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले बताए । ७२ जनाले मंगलबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनालाई क्रमिक रुपमा लालपुर्जा वितरण गरिने उनले बताए ।

‘हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनी बनाउन लागिपरेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘हामीले पाएको जिम्मेवारीअनुसार जनताको अपेक्षा पूरा गर्ने कोसिस गरिरहेका छौं । असार मसान्तसम्म करिब सात सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।’

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुले समेत जिम्मेवारपूर्ण तरिकाले सघाइरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ ।’ सरकारले अघिल्लो आयोग विघटन नगरेको भए १ वर्ष पहिला नै रोङका सबैले लालपुर्जा पाइसक्ने उनको भनाई थियो । पालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि रोङमा बसोवास गर्ने सबै भूमिहीनको हातहातमा लालपुर्जा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।


पहिलो चरणमा इलामको रोङ गाउँपालिकासहित माङसेबुङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत रुपमा काम भइरहेको आयोगका अध्यक्ष अधिकारीले बताए । उनले फिल्डमा आउने स–साना समस्यामा नअल्झिएर आवश्यक समन्वय र सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले संविधानले नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने अधिकार सुनिश्चित गरेको बताउँदै आयोगले सबैलाई लालपुर्जा उपलब्ध गराउने बताए । देशभर जिल्ला आयोगबाट लालपुर्जा वितरण सुरु भएको बताउँदै उनले २ वर्षभित्र सबै भूमिहीन जग्गाको मालिक बन्ने दावी गरे ।

रोङ गाउँपालिकाभरिबाट एक हजार आठ सय ६० जनाको आवेदन परेको छ । १ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम गर्न पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ हजार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलामका अध्यक्ष अधिकारीले जानकारी दिए ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष रिजालले भूमिहीन दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्