झापा,आसार ४ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८१-८२) को जेठ मसान्तसम्म कुल बजेटको ५७ प्रतिशत अर्थात् २० अर्ब ११ करोड रकम खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेशले राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ, तर विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चले भने अझै गति लिन सकेको छैन ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । मध्यावधि समीक्षामा भने चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ५८ करोड ९९ लाखमा सीमित गरिएको छ । सो रकममध्ये पनि साढे २८ अर्ब हाराहारीमात्रै बजेट खर्च हुने प्रदेश सरकारको अनुमान छ ।
त्यसो हुँदा असार महिनाभित्रै प्रदेश सरकारले ८ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने ५४.८ प्रतिशत बजेट खर्च भएको थियो ।
यस वर्षको समग्र खर्च प्रतिशतमा सामान्य सुधार भने देखिएको छ । जेठ मसान्तसम्ममा चालु खर्चतर्फ ५६.२ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ९९ लाख र पुँजीगत खर्चतर्फ ४९.२ प्रतिशत अर्थात् ८ अर्ब ५३ करोड २० लाख खर्च भएको छ ।
प्रदेश सरकारले चालु खर्चका लागि १३ अर्ब ४ करोड ४० लाख र पुँजीगत खर्चका लागि १७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै स्थानीय तह अनुदानका लागि छुट्ट्याएको ४ अर्ब ८५ करोड ६५ लाखमध्ये हालसम्म ८७.५ प्रतिशत अर्थात् ४ अर्ब २४ करोड ८१ लाख खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहँदा पुँजीगत खर्च ५० प्रतिशत पनि नपुग्नुले विकास आयोजनाहरूको कार्यान्वयन सुस्त रहेको र ‘असारे विकास’को प्रवृत्ति यस वर्ष पनि दोहोरिने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्