झापा, असार ४ । इलाममा ट्रयाक्टरको डालाले ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान १०.५० बजे इलाम देउमाई नगरपालिका ९ चिसापानीस्थित भित्री सडकखण्डमा आङलाबुङबाट नवमीतर्फ आउँदै गरेको प्र.१–०१–०१३प ७६०१ नं को मोटरसाइकल प्र–१–०१–००१त९८३४ नं को ट्रयाक्टर आउँदै गरेको देखेर सडकमा साइड लगाएर बसेको थियो । चिसापानीबाट आङलाबुङतर्फ जाँदै गर्दा मोटरसाइकलसंग ट्रयाक्टरको पछाडिको डाला ठोक्किएको थियो ।
मोटरसाइकल चालक देउमाई –९ चिसापानी बस्ने २५ वर्षीय केशव मगर सडकबाट अन्दाजी १० मिटर तल खसेका थिए । घाइते मगरको टाउकोमा चोट लागेर स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ ल्याइएको छ ।
ट्रयाक्टर पनि सडकबाट अन्दाजी ३० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रयाक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप गिरी सकुशल रहेको प्रहरीले जनाएको छ ।