झापा, असार ५ । नेकपा एमालेका युवा नेता तथा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले एमाले परित्याग गरेका छन् ।

आज आफ्नो फेसबुकमार्फत उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले स्टाटस लेख्दै पार्टी कामका दौरान सहयोग गर्नु हुनेहरुलाई धन्यवाद दिएका छन् । उनले मित्र, शुभचिन्तक र सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भनेका छन्, “आज म एक गहिरो सोच, स्वमूल्यांकन र अनुभवको आधारमा नेकपा (एमाले) पार्टीबाट अलग भएको औपचारिक घोषणा गर्दछु ।”

नेकपा एमालेभित्र इमान्दार युवा व्यक्तित्वको छवि बनाएका तिम्सिनाले पार्टीबाट अलग हुनुको कारण वर्तमान राजनैतिक अवस्था रहेको बताएका छन् । उनले भनेका छन् “ पाटीभित्र चाकडी नगरेसम्म हामी जस्ताले टिक्न गाह्रो रहेछ ”
राजनैतिक तथा सामाजिक क्षेत्रमा सधै अग्रणी भूमिकामा रहेका तिम्सिनाका अब कुन पार्टीमा जान्छन् भन्ने सबैमा चासो बढेको छ । उनले फेसबुक स्टाटसको अन्त्यतिर सामान्य संकेत गर्दै भनेका छन्, “अन्य असल कर्ममा सधै यहाँहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने नै छु ” ।

उद्योगी व्यापारीहरुबिच लोकप्रिय तिम्सिनाले आगामी २०८४को निर्वाचनलाई लक्षित गरी यो कदम चालेको हुन सक्ने देखिएको छ । उनले २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीभित्र उपप्रमुख पदको उम्मेदवारको दावी गरेका थिए । तर उनलाई पार्टीले उम्मेदवार बन्नबाट रोकेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्