झापा,असार ६ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा पनि आजदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।

आज बिहान बिर्तामोडमा प्रभातफेरि निकालेर ट्राफिक सप्ताह शुरु गरिएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ शुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय , विद्यार्थी लगायत करिब २०० जनाको उपस्थितिमा बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरि निकालिएको हो। प्रभातफेरि सिटीसेन्टरको साई पार्टी प्यालेसको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको छ ।