झापा,असार ७ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८२-०८३) का लागि ल्याएको बजेटबारे प्रदेश सभामा छलफल जारी छ ।

छलफलका क्रममा विपक्षीहरूले बजेटको आलोचना गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) विनियोजन भएको छ ।
गत वर्षको तुलनामा यो बजेटमा चालु खर्च बढेको छ भने पुँजीगत खर्च घटेको देखिएको छ । सञ्चालन तथा कार्यक्रम खर्च त अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ । मन्त्रालयगत हिसाबले विनियोजन गरिएको कार्यक्रममा कतिपय अमिल्दा कार्यक्रम पनि छन् ।
उदाहरणका लागि पर्यटन मन्त्रालयले खेलकुद आयोेजना गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले चिया सम्मेलन गर्ने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाटो बनाउने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन भएका छन् ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सञ्चालन तथा कार्यक्रम खर्च बढेको छ । सञ्चालन तथा कार्यक्रम खर्च आर्थिक वर्ष २०८०÷०८१ मा ६ अर्ब १६ करोड २६ लाख २० हजार थियो । चालु आर्थिक वर्षमा त्यो खर्च ४.८९ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड ३८ लाख १८ हजार विनियोजन गरियो ।
उक्त बजेटमा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि ५ अर्ब ५८ करोड ४० लाख २० हजार खर्च हुने अनुमान गरिएको थियो । यद्यपि आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा भने त्यो खर्च २६.१४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ४ करोड ३७ लाख ८ हजार पुग्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारको जम्मा साधारण खर्च चालु आर्थिक वर्षमा १४ अर्ब ३७ करोड ७२ लाख ३३ हजार थियो । आगामी आर्थिक वर्षका लागि १०.८७ प्रतिशतले बढाउँदै साधारण खर्चका लागि १५ अर्ब ९३ करोड ९५ लाख ८५ हजार विनियोजन भएको छ ।
उता पुँजीगत खर्च भने गत वर्षको तुलनामा घटेको छ । चालु आर्थिक वर्षमा पुँजीगत खर्च १७ अर्ब ३५ करोड ८७ लाख ६२ हजार हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने उक्त रकममा १.४५ प्रतिशत घटाउँदै पुँजीगत १७ अर्ब १० करोड ६५ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष तलब, निवृत्तीभरण, सामाजिक सुरक्षासमेतको खर्चको अनुमान भने ९.५९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा यो शीर्षकमा ६ अर्ब ६८ करोड ८२ लाख ६८ हजार विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४ करोड ७१ लाख ३८ हजार विनियोजन गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्ष चालुतर्फ सेवा महसुलतर्फ १७ करोड १५ लाख १७ हजार खर्च हुने अनुमान गरिएको छ । मर्मत सम्भार र सञ्चालनका लागि ४७ करोड ७९ लाख २६ हजार लाग्ने अनुमान गरिएको छ । जसमा पदाधिकारी इन्धनका लागि १ करोड ९५ लाख २८ हजार र कार्यालय प्रयोजनका लागि १६ करोड २९ लाख ६३ हजार, सवारी साधन मर्मत खर्च १४ करोड ९५ लाख ५६ हजार, मेसिन मर्मतमा ४ करोड ९० लाख १४ हजार खर्च हुने अनुमान गरिएको छ ।
यस्तै सेवा तथा परामर्श खर्चमा १ अर्ब २ करोड २३ लाख २६ हजार, कार्यक्रम सम्बन्धी खर्च ३ अर्र्ब ६४ करोड ८१ लाख ५७ हजार, अनुगमन मूल्याङ्कन र भ्रमण खर्च १८ करोड ५७ लाख १४ हजार र विविध खर्चको नाममा २० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ पनि सवारी साधन खर्चका लागि १७ करोड १ लाख ७७ हजार राखिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष तलब, निवृत्तीभरण, सामाजिक सुरक्षासमेतको खर्चको अनुमान भने ९.५९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा यो शीर्षकमा ६ अर्ब ६८ करोड ८२ लाख ६८ हजार विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४ करोड ७१ लाख ३८ हजार विनियोजन गरिएको छ ।

यसैबिच प्रदेश सरकारले सार्वजनिक गरेको विनियोजित कार्यक्रम पुस्तिकामा १० हजार मुनिका विकासे कार्यक्रम पनि सयौँको संख्यामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्