झापा, असार ७ । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारका क्रममा आज बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन् ।
प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही दिनदेखि सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबिच झडप भएको बताइएको छ ।