झापा, असार ८ । पछिल्लो समय आहाराको खोजीमा झापासँग जोडिएका इलामका गाउँहरुमा उक्लिएर हात्तीले क्षति गर्न थालेको छ । हात्तीको आक्रमणबाट यो आर्थिक वर्षमा इलाममा दुईजनाको मृत्यु भइसकेको छ ।

हिजो रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । अन्दाजी वर्ष ५०÷५५ की मृतक महिलाको सनाखत हुन सकिरहेको छैन । हात्तीले लछारपछार गरी मारेको महिलाको शव वीभत्स रहेको प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
त्यस्तै रोङ ६ को पुछार गाउँका पूर्णबहादुर राईको घरसमेत हात्तीले भत्काएको छ । हिजो साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
यसअघि गत असोज २८ गते राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो ।
घरनजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट चुलाचुली– १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

विगत ४ महिनादेखि लगातार रोङ गाउँपालिकामा हात्तीले दुःख दिँदै आएको प्रहरी चौकी जिर्मलेका प्रहरी सहायक निरीक्षक साहले बताए । भारतको खैरबनी जंगल र झापाको बाहुनडाँगीबाट जाने गरेका हात्तीले रोङमा जनधनको क्षति गर्दै आएका छन् । ‘केही दिनदेखि १५–२० वटा हात्तीको हुल आइरहेको छ’ साहले भने,‘ लगातार हात्ती आउँदा खेदाउन समस्या भइरहेको छ । ’ उनले एउटा दारे हात्तीले हुलमा नबसी उपद्रो गर्दै आएको जानकारी दिए ।
पछिल्लो समय झापासंगै इलाम जिल्ला पनि हात्तीबाट प्रत्यक्ष प्रभावित भएको डिभिजन वन कार्यालय इलामले जनाएको छ । विशेष गरी इलामको रोङ गाउँपालिका , माई नगरपालिका र चुलाचुली गाउँपालिका हात्तीबाट प्रभावित भएको डिभिजन वन कार्यालय इलामका प्रमुख वीरेन्द्र साहले बताए ।
पहिले–पहिले तराई क्षेत्रमा मात्रै चर्ने जंगली हात्ती अचेल आहारा खोज्दै चुरे र पहाडतिर पनि प्रवेश गर्ने गरेका छन् । हात्तीले किसानको बालीनालीमा क्षति गर्ने गरेको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।