झापा,असार ८ । इजरायल–इरान युद्धमा अमेरिका पनि होमिएको छ । इजरायललाई साथ दिँदै अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको हो ।

यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।
उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ ।

यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’
उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।

इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।

इरानको सरकारी न्युज एजेन्जी आईआरईबीका अनुसार इरानले आक्रमणभन्दा केही समयभन्दा तीनै परमाणु केन्द्रलाई खाली गरेको थियो । यद्यपि तीनवटै क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन ।

यस्तै हुथी विद्रोहीले इरानको परमाणु क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा आपत्ति जनाएको छ । हुथीका नेता मोहम्मद अल–फराहले अमेरिकी बमबारीले युद्धको अन्त्य नभइ सुरुवात भएको बताएका छन् । उनले अब ‘हिट एन्ड रन’को समय आइसकेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्