झापा,असार ८ । नेपाल सरकारले असार १ गतेदेखि ४० मेगावट विद्युत् बङ्गलादेश निर्यात गर्दै आएको छ ।

वर्षायाममा बढी भएको विद्युत् निर्यात गर्ने सम्झौता अनुरुप नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि सो विद्युत् निर्यात् गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक एवम् प्रवक्ता राजन ढकालका अनुसार अहिले भारत र बङ्गलादेश गरी समग्रमा पाँचदेखि ६ सय मेगावट विद्युत् निर्यात भएको अवस्था छ ।
उनले भने, “बङ्गलादेशमा जुन १५ देखि नोभेम्बर १५ सम्मको लागि हो । यस्तै, इन्डियाको हरियाणा, विहारसँग पनि निर्यातका लागि सम्झौता भएको छ । विहार राज्यलाई जुन १५ देखि अक्टोबर ३० सम्म दिन्छौं ।” नेपालमा खपत नभएको विद्युत् विदेशमा निर्यात भएको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाका अनुसार उक्त विद्युत् बिक्रीमार्फत नेपालले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपियाँ आम्दानी गर्ने छ ।
उनका अनुसार बङ्गलादेशमा पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । सो विद्युत् ६.४० अमेरिकी प्रतियुनिटका दरले बङ्गलादेशमा विद्युत् बिक्री गर्ने सम्झौता भएको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेस्नबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्ने छ ।

प्राधिकरणका प्रवक्ता ढकालका अनुसार यो आर्थिक वर्षमा २० अर्ब रुपियाँ बराबरको विद्युत् बिक्री गर्ने लक्ष्य रहेको छ । उनले भने, “यो आर्थिक वर्षमा २० अर्बको बिजुली बेच्ने लक्ष्य लिएका छौं । विगतमा असोजको बाढीले केही नोक्सानी पु¥यायो । यसकारण, असार अन्तिमसम्म १८ अर्ब बराबरको विद्युत् निर्यात गर्छौं होला ।”

अर्थविद् डा. चन्द्रमणि अधिकारीले विद्युत् निर्यातले व्यापार घाटामा सहजीकरण गरेको बताए । नेपालले सकेसम्म कम लागतमा बिजुली उत्पादन गर्ने र सो विद्युत् उत्पादन क्षेत्रमा यही खपत गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्