इलाम,असार ८ । इलाममा विकराल समस्याको रुपमा रहेको आत्महत्याको दर घटेको छ ।

आत्महत्या गरी ज्यान गुमाउनेको संख्या उच्च रहेको इलाममा यस वर्ष आत्महत्या गर्नेको संख्यामा निकै कमी आएको हो ।आर्थिक वर्ष २०८०।०८१ मा इलाममा १२१ जनाले आत्महत्या गरी ज्यान गुमाएका थिए । यस चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको ११ महिनाको तथ्यांकलाई हेर्दा ७० जनाले आत्महत्या गरी ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष आत्महत्या ४२.१४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । गत वर्ष इलाममा झुन्डिएर ११४ , विष सेवन गरी ४ , आगो लगाएर १ र आफैलाई हतियार प्रहार गरी २ जनाले आत्महत्या गरेका थिए । पुरुष ८७ , महिला ३३ र एकजना बालकले आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ ।
यस वर्षको ११ महिनाको अवधिमा झुन्डिएर ६१ , विष सेवनबाट ८ र आफैलाई हतियार प्रहार गरी एकजनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षमा पुरुष ४७ , महिला १८ र पाँच जना बालिकाले आत्महत्या गरेको पाइएको छ । यस वर्ष आत्महत्या गर्ने बालिकाहरुको संख्या बढेको हो ।
पोहोर र परारको तुलनामा यस वर्ष इलाममा आत्महत्या घट्नु सकारात्मक कुरा भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए । उनले प्रहरी प्रधान कार्यालयको कार्ययोजना र त्यसलाई अक्षरस लागू गर्दा आत्महत्यालाई न्यूनीकरण गर्न सफल भएको बताए । उनले प्रहरीको समुदाय साझेदारी कार्यक्रमअन्तर्गत समुदाय स्तरमा जनचेतना फैलाउन गरिएको कार्यक्रमले आत्महत्या कम गर्न ठूलो मद्धत पुगेको प्रतिक्रिया दिए ।
जिल्लामा आत्महत्या रोकथामका लागि विभिन्न प्रयास गरिएका छन् । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले पनि आत्महत्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । त्यस्तै विद्यालयहरुमा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम संचालन हुँदै आएको छ ।
