झापा, असार ८ । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको लम्पी स्कीनबाट यस वर्ष झापाको बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन् ।

बिगत दुई सातादेखि देखा परेको लम्पी स्कीन रोगबाट बिर्तामोड वडा नं ६ मा दुईवटा तथा वडा नं ५ , ७ र ९ मा एक–एक वटा चौपाया मरेका हुन् । बिर्तामोड नगरपालिका–७ का ऋषिराज पौडेलको घरमा रहेको करिब पाँच महिनाको बहर लम्की स्कीन रोग लागेर मरेको जनाइएको छ ।

लम्पी स्कीनविरुद्धको खोप लगाउँदै हिडेका प्राविधिकहरुले सो तथ्यांक संकलन गरेका हुन् । उनीहरुका अनुसार बिर्तामोडका पाँच सयभन्दा बढी चौपाया संक्रमित भएका छन् । टोल टोलमा लम्पी स्कीनको संक्रमण देखिएको छ । महामारीको रुप लिन थालेपछि बिर्तामोडमा लम्पी स्कीनविरुद्धको खोप लगाउन थालिएको छ ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काका अनुसार बिर्तामोडको ६ , ७ र ९ नं वडामा खोप लगाइसकिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरबाट उपलव्ध २५०० खोप लगाउने कार्य भइरहेको डा. खड्काले बताए । उनले नगरपालिकाले ९०० खोप खरिद गर्ने तयारी भइरहेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले थप एक हजार खोप दिन लागेको जानकारी दिए । बिर्तामोडमा करिव १५ हजारको संख्यामा पशु चौपाया रहेको अनुमान गरिएको छ ।

त्यस्तै पशुपंक्षी तथा मत्स्य विकास शाखाले लम्पी स्कीन लागेका चौपायाका लागि निःशुल्क औषधी वितरण गर्दै आएको छ । कार्यालयमा आएका ३२ जना किसानलाई औषधी वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत सावित्राकुमारी दाहालले बताइन् ।

पशु सेवा विभागले यो वर्षको हालसम्म तीन जिल्लामा लम्पी स्कीन रोग देखिएको बताएको छ । लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट गाईभैंसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन प्राविधिकहरुले सुझाएका छन् ।

पशु सेवा विभागका अनुसार यस वर्ष झापा, इलाम, रुकुममा लम्पी स्कीन रोग देखिएको छ ।संक्रमण देखिएको क्षेत्रमा अनुगमन र निगरानी भइरहेको प्राविधिकहरुले बताएका छन् । गाईभैंसीमा उच्च ज्वरो आउने, दाना–पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्ष्य देखिएपछि परीक्षण गर्दा लम्पी स्कीन पुष्टि भएको हो । यस्ता लक्षण देखिएपछि पशुको शरीरमा घाउ आउने गर्दछ ।

योसँगै दुई वर्षअघिको जस्तै महामारीको रुप लिने हो कि भनेर किसान चिन्तित छन् । पशुसेवा विभागले भने यस पटकको संक्रमणले महामारीको रुप नलिने दाबी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्